नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक, ५३ करोड ६९ लाख चार हजार २२९ रुपैयाँ खर्च

Thankot Times

थानकोट ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिब १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ।

राखेपले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो खर्च विवरण सार्वजनिक गरेको हो। नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न भएको थियो।

राखेपले निर्वाचन र सरकारद्वारा विनियोजित रकममा रोक्का हुनु लगायतका कारण समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ। राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि कुल ५३ करोड ६९ लाख चार हजार २२९ रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ।

सरकारद्वारा ६० करोड १० लाख र विनियोजित बजेट र आफैंले आन्तरिक आम्दानी ५१ लाख ५२ हजार ७ सयबाट उक्त खर्च गरेको राखेपको खर्च विवरण उल्लेख छ। यसबाट बचत भएको ६ करोड ८२ लाख ४८ हजार ४६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको राखेपले जानकारी दिएको छ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले राखेपको कारणले भन्दा पनि बाह्य कारणबाट खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको उल्लेख गरे। उक्त अवसरमा उनले पहिलोपटक राष्ट्रिय खेलकुदको इतिहासमा आयोजनाका लागि आन्तरिक आम्दानीको काम भएको र त्यसमा केही मात्रामा सफलता पाएको पनि उल्लेख गरे।

गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुदमा ११ टोलीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये ३ हजार ४१४ पुरुष र २ हजार ७१३ महिला गरी कुल ६ हजार १२७ खेलाडीले ३९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। ती खेलमा पदक विजेता खेलाडीलाई नगद पुरस्कारका दिन बैंक मर्जरका कारण समस्या भए पनि भुक्तानी भइसकेको सदस्यसचिव घिसिङले जानकारी दिए।

राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना गर्ने उल्लेख गर्दै आयोजना मितिको एक वर्षअघि नै त्यसको मोडालिटी पनि तयारी पार्ने विश्वास व्यक्त गरेको छ। आगामी दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आगामी २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *