पाकिस्तानको संसद विघटन

Thankot Times

थानकोट ।

पाकिस्तानको संसद भंग भएको छ।

प्रधानमन्त्री शहवाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार राति संसद भंग गरेका हुन्।

अल जजिराका अनुसार त्यहाँको संसदको कार्यकाल सकिन तीन दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री शरीफले संसद विघटनको सिफारिस गरेका हुन्।

कार्यकाल सकिनुअघि नै संसद विघटन भएपछि पाकिस्तानमा अब ९० दिनपछि ‍चुनाव गर्नुपर्नेछ। संसदको कार्यकाल सकिएको अवस्थामा भने ६० दिनभित्र चुनाव गर्नुपर्ने पाकिस्तानको संविधानमा उल्लेख छ।

संसद विघटन भएपछि कामचलाउ प्रधानमन्त्रीको टुंगो लागेको छैन। त्यसका बारेमा शरीफले विपक्षी दलका नेता राजा रियाजसँग छलफल थालेका छन्।

तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत नपाएपछि गत वर्षको अप्रिलमा शहवाज प्रधानमन्त्री बनेका थिए।

प्रधानमन्त्रीको रूपमा उनको १५ महिने कार्यकालमा पाकिस्तानको राजनीति उथलपुथलमय रह्यो।

आइतबार मात्रै पूर्वप्रधानमन्त्री खान तीन वर्षका लागि जेल चलान भएका छन्। त्यहाँको निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि चुनाव लड्न प्रतिबन्धसमेत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *