फरार ‘हत्यारा’ खोज्दै जाँदा भेटिए जेलमा, चोरी केसमा थानकोटबाट समातिएका थिए अभियुक्त

Thankot Times

थानकोट ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खोज्दै जाँदा जेलमा भेटिएका छन्। कर्तव्य ज्यान सूचीमा फरार रहेका ती व्यक्ति भने चोरी केसमा जेल बसेको खुलेको छ।

व्यक्ति हत्या गरेर चोरी केसमा जेल बस्ने व्यक्ति हुन्, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी। हत्या आरोपमा फरार रहेका उनी चोरी केसमा केन्द्रीय कारागार सुन्धारामा रहेको खुलेको छ। 

२०७४ पुस २९ गते अधिकारीले मकवानपुरको मनहरा गाउँपालिका–३ घर भएकी ज्यामी काम गर्दै आएकी ५० वर्षीया अप्सरा भनिने नारायणी अधिकारीको हत्या गरेको आरोप छ। अप्सराको शव काठमाडौंको बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडिको बोक्सी दहमा फेला परेको थियो। 

उक्त हत्यामा अधिकारीको संलग्नता खुलेको देखिए पनि प्रहरीको रेकर्डमा उनी फरार थिए। उनै फरार रहेका अधिकारीको खोजी गर्ने क्रममा उनी चोरी केसमा कारागारमा रहेको खुलेको हो।

अहिले कारागारमा रहेका अधिकारीको खोजी गर्ने क्रममा पछिल्लो समयमा उनी रामकोटमा तरकारीको टनेल सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उक्त स्थानमा गएर अधिकारीको फोटो देखाउँदै स्थानीयलाई सोधपुछ गर्दा अहिले नभएको तर उनी बस्ने टहरा देखाएका थिए। 

त्यसपछि थप क्लु पाएको प्रहरीले अनुसन्धान गर्दै गर्दा शिवरामको श्रीमतीको नम्बर समेत फेला पारेको थियो। उक्त नम्बरमा कारागार कार्यालय सुन्धाराको नम्बरबाट बारम्बार सम्पर्क हुने गरेको देखिएको थियो। 

यस विषयमा थप बुझ्ने क्रममा शिवरामकी श्रीमती नानिमायाले कारागारमा सम्पर्क गरेका व्यक्ति अर्जुन अधिकारी रहेको भन्ने बुझिएको थियो। यस विषयमा थप पुष्टि तथा बुझ्ने क्रममा उनलाई थानकोट प्रहरीले २०७९ कात्तिक ६ गते चोरी कसुरमा पक्राउ गरेको थियो। पछि अदालत उनलाई ३ वर्षको कैद सजाय सुनाएको पाइयो। 

त्यसपछि कारागारबाट अर्जुन अधिकारीको फोटो मगाएर हेर्दा शिवरामसँग मेल खाएको उनी अर्जुनको नाममा चोरी घटनामा कैद भुक्तान गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए।

यस सम्बन्धमा पीडितको तर्फबाट जाहेरी लिएर अहिले प्रहरी वृत्त कालिमाटीबाट थप अनुसनधान अघि बढाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *