चन्द्रागिरिमा एक विद्यालयका कर्मचारीले छात्रामाथि याैन दुराचार गरेको संघिन आरोप

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा एक विद्यालयमा अध्ययनरत छात्रामाथि सोही विद्यालयका कर्मचारीले याैनजन्य गतिविधि गरेको आरोप लागेको छ ।
बलात्कार आरोपमा पक्राउ परेका विद्यालयका ३० वर्षीय पुरुष कर्मचारीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।

पिडित छात्रा सोही विद्यालयको छात्राबासमा बस्दै आएकी थिइन्। ती छात्रामा मानसिक समस्या देखिएपछि पाटन अस्पतालमा उपचार गराइएको थियो। सो क्रममा केही तनाव रहेको हुनसक्ने भन्दै डाक्टरले सोधपुछ गरेपछि ती छात्राले आफूमाथि बलात्कार हुँदै आएको कुरा बताएको प्रहरीले जनाएको छ । 

एक वर्षदेखि आफूमाथि सोही विद्यालयका लेखा शाखाका कर्मचारीले सो हर्कत गर्दै आएको छात्राले बताएकी छिन्। ललाइ-फकाइ आफ्नै कार्यकक्षमा कर्मचारीले बलात्कार गरेको र उक्त कुरा बाहिर कसैलाई नभन्नु भन्दै धम्की समेत दिएको छात्राले बताएकी थिइन्।
छात्राले आफूमाथि बलात्कार भएको बताएपछि उनको परिवारले प्रहरी वृत्त थानकोटमा उजुरी दिएको थियो।

त्यसपछि मातातीर्थस्थित एक नीजि विद्यालयका ती आरोपित कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।

प्रहरीले अनुसन्धान सकेर बलात्कार कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

प्रहरीको अनुसन्धानअनुसार ती लेखापालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *