चारदेशीय टी-२० सिरिजः हङकङविरूद्ध नेपालको ६ विकेटको जित

Thankot Times

थानकोट ।

नेपाल, मलेसिया, हङकङ र कुवेत सम्मलित चारदेशीय क्रिकेट सिरिजमा नेपालले शानदार जित दर्ता गरेको छ ।

मलेसिया मंगलबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो।

हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि सम्झना खड्काले नटआउट ३६ रन जोडिन्। उनले ३६ बल खेल्दा ५ चौका प्रहार गरिन्। यस्तै सीता राना मगर ३ रनमा नटआउट रहिन्।

राष्ट्रिय टिममा डेब्यू गरेकी ओपनर पूजा महतोले १६ रन जोडिन्। अर्की ओपनर विन्दू रावल शून्यमा आउट हुँदा इन्दू वर्माले ९ रन जोडिन्। कप्तान रूबिना क्षेत्री १० रनमा आउट भएकी थिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ पाँच बल खेल्न बाँकी छदा ८४ रनमा अलआउट भयो। हङकङका लागि का यिङ चानले ३४ रन र यान चानले १६ रन जोडिन्। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपालकी सीता राना मगरले ५ विकेट लिइन्। उनले ४ ओभरमा १६ रन खर्चिइन्। इन्दू बर्माले २ विकेट हात पार्दा कविता कुँवर र पूजा महतोले १-१ विकेट आफ्नो नाममा लेखाए।

सिरिजमा अब नेपालले भोलि कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ।

त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *