थानकोट क्षेत्रमा बिहानैदेखि वर्षा, दिउँसो पनि वर्षा जारी रहने सम्भावना
थानकोट ।
देशका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको छ ।
थानकोट लगायतको क्षेत्रमा बिहानैदेखी वर्षा जारी छ ।
माैसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि सक्रिय हुँदा आज केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ जनाएको छ।
महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भारी वर्षाको समेत सम्भावना रहेका क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयको सम्भावना रहेको विभागको भनाइ छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।












