बागमतीमा भोलि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

थानकोट ।

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार (भोलि) ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो । 

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए ।

ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ डुंगामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्नका लागि पाँच लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ ।

सोही अवसरमा सहभागीले नदी सरसफाइ समेत गर्नेछन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *