आफ्नै वडाबाट माओवादी विशेष अभियानको सुरु हुने भएपछि चन्द्रागिरि-२ का वडाध्यक्ष तामाङ दंग
थानकोट ।
माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आफ्नो वडाबाट सुरु गर्न लागिएकोमा चन्द्रागिरि-२ का वडाध्यक्ष भाइकृष्ण तामाङ दंग परेका छन् ।
आफ्नै वडाबाट सिंगो माओवादी रूपान्तरण अभियानको सुरूवात हुने भएपछि उनी दंग परेका हुन् ।
उनी अहिले अभियान तयारी बैठकमा बस्ने, केन्द्रीय नेताहरू वडाको अवस्थाबारे जानकारी गराउने, नेताहरूको व्यवस्थापन लगायत काम व्यस्त छन् । बिहीबार अभियान तयारी वडास्तरमा कसरी गर्ने भन्ने सम्बन्धमा विस्तारित बैठक राखेका थिए ।
समारोहस्थल व्यवस्थापन तयारीमा उनलाई भ्याइनभ्याइ थियो ।
रूपान्तरण अभियानको उद्घाटन आफ्नै वडाबाट हुनेमा कल्पना नगरेपनि अध्यक्ष प्रचण्डलाई ल्याउन उनले पहल गरेका थिए ।
‘अध्यक्षज्यूले काठमाडौंकै कुनै एक वडामा जाने इच्छा देखाउनुभएकाले उहाँलाई हाम्रो वडामा ल्याउन प्रस्ताव गरेका थियौं । काठमाडौंमा माओवादी केन्द्रले प्यानलै जितेको वडा हाम्रो मात्र हो । अहिले मात्र होइन अघिल्लो निर्वाचनमा पनि माओवादीले जितेको थियो । यो क्षेत्र उहाँको निर्वाचन जितेको क्षेत्र पनि हो । यी सबै हिसाबले अध्यक्षज्यूलाई ल्याउन हामीले बारम्बार पहल गरेका थियौं । तर अभियान नै यहीँबाट हुने भएपछि हामी निकै खुसी छौं’, उनले भने ।
विशेष अभियानपछि माओवादी फेरि जाग्ने वडाध्यक्ष तामाङको विश्वास छ ।
व्यवस्था परिवर्तनको नेतृत्व माओवादीले गरेकाले अब अवस्था परिवर्तनको नेतृत्व माओवादीले नै गर्ने उनको जिकिर छ । उनले पार्टी मात्र रूपान्तरण नभई देशकै रूपान्तरणका लागि माओवादी फेरि जाग्ने जिकिर गरे ।
साउन १७-२१ गतेसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यलाई वडामा खटाउने निर्णय गरेको थियो ।
प्रचण्डले सात प्रदेशको सात वडामा जाने घोषणा गर्दै केन्द्रीय सदस्यहरूलाई समेत वडामा गएर काम गर्न निर्देशन दिएका थिए ।












