एसिया कपमा नेपाल र भारत भिड्दै, बराबरीले भारत सुपर ४ मा पुग्ने, जित्नैपर्ने दबाबमा नेपाल
थानकोट ।
एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज अर्को महारथी टोली भारतसँग खेल्दैछ।
अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो।
श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ।
एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खेलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको थियो ।
उमेर समुहमा पटक पटक खेलिसके पनि सिनियर टोलीमा यी दुईबीच पहिलो खेल हुन लागेको हो। अब समूह ए मा नेपाल र भारतबीचको खेलको विजेता अर्को चरणमा पुग्नेछ।
एसिया कप खेल्दै गरेका ६ टोलीमध्ये सबैभन्दा कमजोर टोली नेपालले भारतविरुद्ध अकल्पनीय नतिजा निकालेको खण्डमा त्यो नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक दिन हुनेछ।
सन् २०१७ मा एसिसी यु १९ एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो। त्यस समयमा पनि समूह ए मा भारतलाई हराउँदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो।
अहिले पनि त्यस्तै समीकरण छ। त्यस ऐतिहसिक जितका ६ जना खेलाडी दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भिम सार्की, सन्दीप लामिछाने, आसिफ शेख र किशोर महतो यसपटक पनि टोलीमा छन्।
नेपाली क्रिकेट इतिहासमा भारतलाई हराएको त्यही एकमात्र खेलका नेपाली टोलीका ब्याटिङ प्रशिक्षक मोन्टी देशाई यसपटक मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन्।












