लगातार चाैथो जितसँगै नेपाल आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम ४ मा

Thankot Times

थानकोट ।

नेपाल मलेसियामा जारी आईसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ।

सोमबार बिहान मलेसियाको बांगीमा सम्पन्न खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा तय गरेको हो।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो।

अंक तालिका हेराैं

समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन। उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन्।

त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन्। सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो। कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्।

त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन।

नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए।

नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *