६० किलो सुन तस्करी प्रकरण: चन्द्रागिरि बस्ने पुनसँग सीआईबीले लियो बयान
थानकोट ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ ।
पुनलाई कार्यालयमै बोलाएर सीआईबीका अधिकारीले सोमबार बयान लिएको बताइएको छ ।
सुन तस्करीमा मुछिएका अन्यसँग उनको पनि सम्पर्क देखिएपछि बोलाएर बयान लिइएको एक सीआईबीका एक अधिकारीले बताए ।
राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।
सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो ।
आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।
उपराष्ट्रपतिको पदावधि सकिएसँगै नन्दबहादुर पुन ‘पासाङ’ परिवारसहित चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित इन्द्रस्थानमा बस्दै आएका छन् ।











