बाँकेमा रोकिराखेको ट्रकमा यात्रुबस ठोकिँदा चालकसहित ७ जनाको ज्यान गयो

Thankot Times

थानकोट ।

बाँके जिल्लाको कोहलपुरस्थित शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको सडक दुर्घटनामा चालकसहित ७ जनाको ज्यान गएको छ । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक  बर्दियाको ठाकुरबाबा-८ का  ५५ वर्षीय जुगबहादुर चन्द तथा सहचालक बर्दियाको बारबार्दिया नगरपालिका -७ का ३४ वर्षीय बसन्त कार्कीको पनि मृत्यु भएको छ।

बाँकेका डिएसपी नारायण डाँगीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।

डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ