चाडपर्व नजिकिएसँगै केजीमै ४५ रुपैयाँसम्म बढ्यो चिनीको भाउ, पसलैपिच्छे फरकफरक मूल्य

Thankot Times

थानकोट ।

चाडपर्व नजिकिएसँगै नेपालमा चिनीमा हुने कालोबजारी नौलो होइन।

यो वर्ष पनि चाडपर्व नजिकिएसँगै बजारमा चिनीको मूल्य बढेर छोइनसक्नु बढेको छ।

चिनीको मूल्यमा होलसेल व्यापारीहरूले मनलाग्दी गर्दा झण्डै एक महिनामै प्रतिकेजी २५ देखि ४५ रुपैयाँसम्मले महँगिएको हो। पसलैपिच्छे मूल्य फरक-फरक हुँदा उभोक्ता ठगिने क्रम बढेकाे छ। यतिबेला नियमनकारी निकाय भने मौन छ।

नियमनकारीको मौनताको फाइदा उठाउँदै व्यापारीले आफूखुसी मूल्यवृद्धि गरिरहेका छन्। काठमाडौंमा रहेका पसलहरूमा अहिले चिनीको मूल्य फरक-फरक पाइन्छ।

बजारमा चिनीको अभाव नभए पनि मूल्यवृद्धि हुँदा उपभोक्ताहरु समस्यामा परेका छन्।  उपभोक्ताहरू अहिले प्रतिकेजी १०५, १२० र १३० सम्ममा चिनी किन्न बाध्य छन्।

एक साताअघि ८० देखि ८५ रुपैयाँ प्रतिकेजीमा किनेको चिनी अहिले १२० देखि १३० सम्म पुगेको काठमाडौंको असन बस्ने सम्झना बिडारीले सुनाइन्।  नेपाल खुद्रा व्यापार संघका कोषाध्यक्ष नरेशबाबु शाहीले होलसेल र ठूला व्यापारीहरुले मनपरी गरेको बताए।

उनले भने, ‛खुद्रामा बढेको छैन, यो होलसेल र ठूला व्यापारीहरुले आफूखुसी भाउ बढाएका हुन्, मनलाग्दी गरेका हुन्’‚ उनले थपे, ‛खुद्रामा त त्यति धेरै मूल्य छैन, होससेलमा कसरी १३० पुग्यो?’

सरकारले हस्तक्षेप गर्नुपर्छ 

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकारकै कमजोरीका कारण नेपाली जनता कालोबजारी र महँगीको मारमा परेको बताए। मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।

‘अनुगमनले मूल्य नियन्त्रण हुने होइन, बजारलाई सन्तुलित रूपमा मात्रै ल्याउने हो तर मुख्य कुरा चाहिँ बजारमा मूल्य हस्तक्षेप गर्नुपर्ने थियो सरकारले त्यो मूल्य हस्तक्षेप गर्न नचाहेको कारण अहिलेको अवस्था आएको हो’ उनले भने।

सरकारको अदूरदर्शी नीति, अकर्मण्यता र दलाल र बिचौलियाहरूको दबाबमा काम गर्ने नीतिले कालोबजारी र मूल्यवृद्धि रोकिन नसकेको अध्यक्ष महर्जनले बताए।

उनले सरकारले चिनीको मूल्य तोक्नुपर्ने पनि बताए। अध्यक्ष महर्जनका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने नेपाली जनताले चिनी प्रतिकेजी ७३ रुपैयाँमा पाउन सक्ने स्थित रहेको छ। 

खाद्य व्यवस्थामा चिनी छैन 

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि यतिबेला चिनी बिक्री वितरण स्थगित गरेको छ।

कम्पनीमा अहिले चिनीको मौज्दात कम रहेकाले बिक्री वितरण रोएिको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले थाहा खबरलाई जानकारी दिइन्। उनका अनुसार अहिले कम्पनीमा १० क्विन्टल मात्रै चिनी स्टक छ। नयाँ कार्यक्रम भर्खरै आएको र त्यसको स्वीकृत भएपछि मात्रै नयाँ प्रक्रियामा जाने उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ