चन्द्रागिरि नगर वडास्तरीय फुटसलको उपाधि चन्द्रागिरि-१५ तीनथानालाई
थानकोट।
लाैह पुरुष गणेशमान सिंहको २६औ स्मृति दिवसका अवसरमा काठमाडाैंका स्थानीय तहबीच हुने फुटसल प्रतियोगिता मा चन्द्रागिरि नगरपालिकाबाट वडा नं. १५ तीनथानाले सहभागिता जनाउने भएको छ ।
शनिबार साँझ सम्पन्न नगरस्तरीय अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि जितेसँगै वडा नं. १५ तीनथानाले नगरपालिकाको प्रतिनिधित्व गर्दै नेपाल तरूण दल काठमाडाैं जिल्ला समितिको आयोजनामा असोज २ गते हुने अन्तर पालिका फुटसल प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।
सो प्रतियोगितामा काठमाडाैंका ११ वटै पालिकाबाट छनोट भएका १-१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
शनिबार चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँस्थित मत्स्यनारायण रिक्रियशन सेन्टरमा सम्पन्न फाइनल खेलमा वडा नं. १४ लाई २-१ गोलले पराजित गर्दै वडा नं. १५ ले नगद २० हजार रूपैयाँ समेत हात पार्यो ।
उपविजेता वडा नं. १४ ले ५ हजार रूपैयाँमा चित्त बुझायो ।
यसअघि दिउँसो बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
विजेता तथा उपविजेता टोलीलाई बागमती प्रदेशका मन्त्री पुकार महर्जन लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
नेपाल तरूण दल चन्द्रागिरि नगर कमिटिको संयोजनमा सम्पन्न प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न वडाहरूले सहभागिता जनाएका थिए ।
आज नै काठमाडाैंका विभिन्न नगरपालिकामा पनि वडास्तरीय प्रतियोगिता सम्पन्न भएको नेपाल तरूण दल काठमाडाैं जिल्ला समितिले जनाएको छ।













