वर्ल्ड मिट इन्टरनेशनल अवार्ड-२०२३ का लागि नेपाली टोली थाइल्याण्डमा, प्रशिक्षक धामी सम्मानित हुँदै
थानकोट ।
थाइल्याण्डमा वर्ल्ड मार्शल आर्टिस्ट काउन्सिलले आयोजना गर्न लागेको तेस्रो वर्ल्ड मिट इन्टरनेशनल अवार्ड-२०२३ मा सहभागिता जनाउन नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ ।
सेप्टेम्बर २० र २१ मा हुने तेस्रो वर्ल्ड मिट इन्टरनेशनल अवार्ड-२०२३ मा सहभागिताका लागि चन्द्रागिरि नगरपालिका ७ निवासी नेपाल सिन्दो काइकन कराँते एसोसियसनका महासचिव एवं पूर्व साग स्वर्णपदक विजेता जगत धामी पनि सम्मिलित छन् ।

थाइल्याण्डको सो कार्यक्रमपछि चार सदस्यीय नेपाली टोली मलेसियामा सेप्टेम्बर २४ मा हुने इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागी हुने महासचिव धामीले जानकारी दिए ।
मलेसियामा हुने अवार्ड कार्यक्रममा बेलायतको द मिक्स मार्श अर्ट काउन्सिलले नेपाल सिन्दो काईकन एसोसियसनलाई अवार्ड प्रदान गर्ने बताइएको छ ।
थाइल्याण्ड उड्नुअघि आयोजित बिदाइ एवं पत्रकार सम्मेलनमा सो एसोसियसनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकोले राज्यले त्यसलाई प्रोत्साहन दिनुपर्ने धारणा राखे । अध्यक्ष खड्काले खेलडीहरुले नेपालको राष्ट्रियता र पहिचानको लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । खड्काले आफूहरुको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानीमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए । पत्रकार सम्मेलनमा उपाध्यक्षद्वय वीरबहादुर कडायत र यमुना प्रसाद काफ्लेले आफूहरुले पूर्ण हौसलाका साथ प्रतिस्पर्धामा सहभागी हुने र ‘फोर्थ वल्र्ड मिट इन्टरनेशनल अवार्ड-२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।












