विश्वकप क्रिकेटः आयोजक भारतको लगातार दोश्रो जित, आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल

Thankot Times

थानकोट ।

आयोजक भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोश्रो जित दर्ता गरेको छ ।

अफगानिस्तानविरुद्ध भारतले ८ विकेटको सहज जित निकालेको हो ।

बुधबार नयाँ दिल्लीस्थित अरूण जेट्ली रंगशालामा कप्तान रोहितले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा दुई विकेट गुमाएर भेटायो ।

भारतको जितमा रोहितले १३१ रन बनाए । आक्रामक ब्याटिङ गरेका रोहितले ८४ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे । एकदिवसीय विश्वकपमा रोहितको यो सातौँ शतक हो । योसँगै रोहितले विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । रोहितले आफ्नै मुलुकका पूर्वक्रिकेटर सचिन तेन्दुल्करले बनाएको ६ शतकको कीर्तिमान तोडेका हुन् ।

टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७२ रनको योगफल खडा गरेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार दिउँसो २ः१५ बजे अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । दक्षिण अफ्रिका लगातार दोश्रो जितको खोजीमा रहँदा अष्ट्रेलिया पहिलो जितको प्रतिक्षामा हुनेछन् ।

पछिल्लो अंक तालिका अनुसार समान ४ अंक भएपनि नेट रन रेटका अनुसार न्यूजील्याण्ड, भारत र पाकिस्तान क्रमश पहिलो, दोश्रो र तेस्रो स्थानमा छन् भने अफगानिस्तान अंकतालिकाको पुच्छरमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *