विश्वकप क्रिकेटः पाकिस्तान विरूद्ध भारतको जित, आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुँदै

Thankot Times

थानकोट ।

आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुँदैछ।

भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे शुरू हुनेछ।

जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ। अफगानिस्तानले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ।

इङल्याण्डले आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग ९ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई १३७ रनले पराजित गरेको थियो। अफगानिस्तानले भने पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो।

यस विश्वकपमा दुवै टिमको यो तेस्रो खेल हो। यस खेलमा डिफेन्डिङ च्याम्पियन इङल्याण्डले जित हासिल गरेर विजयी लय देखाउन चाहन्छ भने अफगानिस्तान भने यस विश्वकपमा पहिलो जितकै खोजीमा रहेको छ।

दुवै देशबीच अहिलेसम्म केवल २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा दुवै खेल इङल्याण्डले जितेको छ।

यसअघि शनिबार राति सम्पन्न खेलमा घरेलु टोली भारतले पाकिस्तानमाथि ७ विकेटको सहज जित दर्ता गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *