सडेन डेथमा मातातीर्थलाई स्तब्ध बनाउँदै नयाँ नैकापले जित्यो मत्स्य यू-१३ वडा कप फुटसलको उपाधि
थानकोट ।
कार्तिक २२ गतेबाट चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टरमा रहेको मत्स्य फुटसलमा जारी मत्स्य यू-१३ वडा कप फुटसलको उपाधि चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापले जितेको छ ।
शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा चन्द्रागिरि वडा नं. ८ मातातीर्थको चुनाैती पेनाल्टी सूटआउटमा पन्छाउँदै चन्द्रागिरि वडा नं. १४ नयाँ नैकापले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट समान ४-४ भएपछि उपाधि छिनोफानो सडेन डेथमा धकेलिएको थियो । जहाँ वडा नं. १४ ३-० गोलले अगाडी रहँदा उपाधी आफ्नो पक्षमा पार्न सफल भयो ।
उपाधिसहित वडा नं. १४ ले नगद ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्दा दोश्रो भएको वडा नं. ८ ले ३० हजार रूपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न १३ वटा वडाका १३ वर्ष भन्दा कम उमेर समुहका खेलाडीहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।













