यस्तो छ चन्द्रागिरि नगरपालिका वडा नं. ३ को मतगणनाको विस्तृत विवरण

Thankot Times

थानकोट ।

दोश्रो स्थानीय तह निर्वाचनमा चन्द्रागिरि ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दुर्गालाल महर्जनले जित हासिल गरेका छन् । महर्जन निवर्तमान वडाध्यक्ष समेत हुन् । चन्द्रागिरि ३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । यो वडा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार घनश्याम गिरीको वडा हो ।

गत स्थानीय निर्वाचनमा दुर्गालालसँग पराजित भएका नेकपा एमालेका नारायण बहादुर महर्जन यसपटक पनि पराजित भएका छन् । तीनजना वडाध्यक्षका उम्मेदवार रहेको चन्द्रागिरि ३ मा माओवादी केन्द्रबाट देवकृष्ण महर्जनले उम्मेदवारी दिएका थिए । केही मतपत्र बढी फेला परेपछि निर्वाचन अधिकृतको कार्यालयले यस वडाको मतगणना स्थगित गरेको थियो ।

हालसम्म सार्वजनिक चन्द्रागिरि नगरका ३ वडाका मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले १ तथा नेपाली काँग्रेसले २ वडामा नेतृत्व पाएको छ।

अहिले चन्द्रागिरि ४, ५ र ६ को मतगणना जारी छ । नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता जारी राख्दा नेकपा एमालेकी उम्मेदवार वसन्ती श्रेष्ठको एकल अग्रता कायम छ ।

कुल मतदाता संख्या २४७३ रहेका चन्द्रागिरि ३ थानकोटमा १९२० मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले थानकोट टाइम्सलाई उपलब्ध गराएको अन्तिम मतपरिणाम अनुसार यस वडामा वडाध्यक्ष पदमा विजयी भएका दुर्गालाल महर्जनले ६६१ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५७१ तथा नेकपा एमालेका उम्मेदवारले ४७८ मत पाएका छन् । वडाध्यक्ष पदको १६८ मत बदर भएको छ ।

त्यस्तै मेयर पदमा नेपाली काँग्रेसले चन्द्रागिरि ३ बाट ९०९ मत पाउँदा नेकपा एमालेले सो पदमा ६०४ मत पाएको छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवारले ६९० मत प्राप्त गर्दा गिलास चुनाव चिन्हमा  १९६, कलम चुनाव चिन्हमा १२४ तथा  हलो चुनाव चिन्हमा  ३८ मत परेको छ । यस वडामा उपमेयरको  ७७९ मत बदर भएको छ । यस वडामा ५० मत पूर्ण रूपमा बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *