१५८ मिटर खन्न बाँकी रहँदा नागढुंगा सुरुङ भित्र पहिरो, काठमाडाैंतर्फ काम ठप्प
थानकोट ।
निर्माणाधीन नागढुंगा सुरुङ मार्गको सुरुङ निर्माणस्थलमा पहिरो गएको छ ।
१५७.६० मिटर सुरुङ खन्न बाँकी रहँदा सुरुङ मार्गको काठमाडाैं तर्फको पोर्टलमा पहिरो (कोल्याप्स) गएको हो ।
जसका कारण केहीदिन देखी सो क्षेत्रमा सुरङ खन्ने कार्य स्थगित रहेको आयोजन प्रमुख नवीनमान श्रेष्ठले बताए ।
‘हाम्रो यही महिनाको अन्तिममा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गर्ने योजना बनाएका थियौं। तर सुरुङमार्गको पूर्वतर्फको भागमा केही कमजोर संरचना आएर माटोहरु झरेकाले समस्या भएको छ। जसलाई प्राविधिक रुपमा कोल्याप्स भएको भन्छौं। अहिले पूर्वतर्फको खण्डमा ‘विक जोन’ आएको हो,’ उनले भने, ‘अब यसलाई पन्छाउन र यसको ट्रिटमेन्ट गर्न १५ देखि २० दिनको समय लाग्छ।’
श्रेष्ठका अनुसार दुबैतर्फबाट सुरुङ खन्ने काम भइरहेको थियो। ‘तर यसले पूर्वतर्फको सुरुङ खन्ने काम केही दिनदेखि बन्द जस्तै छ। यसले हामीले बनाएको योजना र निरन्तर रुपमा खन्ने काममा केही बाधा आएको छ,’ उनले भने, ‘अब ब्रेक थ्रु गर्ने काम माघको अन्तिमतिर मात्र हुन्छ।’
उनका अनुसार कमजोर संरचनालाई बलियो बनाउने काम भइरहेको छ। श्रेष्ठका अनुसार पश्चिम र बीचबाट भने सुरुङको काम निरन्तर भइरहेको छ।
श्रेष्ठका अनुसार आयोजनामा अहिले पनि ५०० कामदारहरु दुई सिफ्टमा काम गरिरहेका छन्। ‘अहिले यो साइटबाट मात्र ३ मिटर खन्ने काम भइरहेको थियो। तर यसरी माटो कोल्याप्स भएका कारण त्यो काम ठप्प भएको छ। यही हिसाबले पनि अब त्यसलाई ट्रिटमेन्ट गर्न २० दिन लाग्यो भने पनि ६० मिटर सुरुङ खन्ने काम पछि धकेलिन्छ,’ उनले भनेको बीजमाण्डूमा खबर छ ।












