अबको वर्ष दिनभित्र नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी, इन्धन ट्याँकर र मोटरसाइकललाई ‘नो इन्ट्री’
थानकोट ।
आगामी वर्षको पुस महिनामा नागढुंगा सुरुङबाट गाडी चलाउने योजना अनुसार काम भईरहेको छ ।
आयोजना सुरु भएयता १४ अर्ब ६ करोड २ लाख रुपैयाँ खर्च भइसकेको छ ।
अहिले दुई सिफ्टमा काम भएकाले प्रगति राम्रै रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
धादिङ र काठमाडौं दुवैतिर धमाधम काम भइरहेको बताइएको छ ।
कुनै समस्या आइ नपरे अबको दुई महिनाभित्र मुख्य सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाका उपनिर्देशक गोविन्द डुमरुको भनाइ छ । मुख्य सुरुङ अब ९५ मिटर मात्र खन्न बाँकी छ । समग्र सुरुङ खन्ने काम १.८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । धादिङतर्फ मुआब्जाको केही समस्या भएकाले समाधानको प्रयास भइरहेको छ । तर पहिलाजस्तो मुआब्जाको समस्या अहिले धेरै नरहेको आयोजनाको भनाई छ । अहिले निर्माणमा प्रतिदिन करिब ५ सय कामदार परिचालित छन् ।
मुख्य सुरुङको कुल दूरी २,६,८८ मिटरमध्ये २,५,९३ मिटर खनिसकिएको छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २५५७ मिटर दूरी रहेको आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । मुख्य सुरुङ खन्ने काम सकिए पनि यातायात सञ्चालनमा आउन भने समय लाग्नेछ ।
सुरुङ खनेको एक वर्षभित्र फिनिसिङको काम सकेर उक्त खण्डमा यातायात सञ्चालनमा ल्याइने जनाइएको छ ।
नेपालको पहिलो यातायात सुरुङमा निर्माणका क्रममा कुनै समस्या नआए ०८१ पुसमा यातायात चल्ने गरी काम गरिरहेको आयोजनाको दाबी छ । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम अन्तिम चरणमा छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।
यसअनुसार ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माण भइसकेका छन् । यो सुरुङ सञ्चालनमा आएपछि नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यात्रुले ट्राफिक जामको सास्ती खेप्नुपर्ने छैन् ।
सुरुङ बनेपछि साढे ७ किलोमिटर सडक छोटिने आयोजनाको भनाइ छ ।
सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेट भने आवतजावत गर्न पाउने छैनन् । अन्य आयोजनाको तुलनामा यसको निर्माणमा प्रगति राम्रो रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको भनाइ छ ।
०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो ।
यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।












