पाेखराकाे प्याराग्लाइडिङ शुल्कमा अप्रत्याशित गिरावट, १२ हजारबाट घटेर अब ३ हजार रुपैयाँ

Thankot Times

थानकोट ।

प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्।

यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो। यो शुल्क १५ देखि २० मिनेट उडान अवधिको रहेको व्यावसायीले बताएका छन्।

प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो।

हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो। अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन्।

‘मैले नै ४ हजार रुपैयाँमा पाहुना उडाएको छु। किनकी प्रतिश्पर्धात्मक बजारमा मूल्य घटेपछि सस्तो बनाएको हुँ,’ हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनिका संचालक शैलेन्द्र रावतले भने, ‘सबैतिर सस्तो परेपछि मैले पनि सस्तैमा उडाएको हुँ।’ उनका अनुसार यो मूल्य १५ देखि २० मिनेटसम्म अवधिका लागि मात्र हो।

छाता संस्था ना अध्यक्ष सुनिल भट्टराईले पनि खुला बजारमा जाँदा व्यावसायीले मुल्य ३ देखि ४ हजार रुपैयाँमा झारेको बताए। ‘खुला बजारमा जाँदा त राम्रो हो, तर अस्वस्थ प्रतिश्पर्धाको डर छ,’ भट्टराईले भने, ‘अस्वस्थ प्रतिश्पर्धाले गर्दा मूल्य घटेको छ। तर कम मुल्यमा धेरै पाहुना पायौं भनेर हतारमा उडान गर्न खोज्दा जोखिम  बढ्न सक्छ।’

त्यसबाहेक कम मुल्यमा उडाउँदा पाइलटले पारिश्रमिक पनि कम पाउँछन्। धेरै कमाउने नाममा उडानको चाप पाइलटलाई पर्न जाँदा समस्या बढ्ने चिन्ता रहेको उनले बताए। ‘सुरक्षामा चूनौती थपिन्छ की भन्ने मात्र हो। स्वस्थ प्रतिश्पर्धा नराम्रो होईन, तर, प्रतिश्पर्धाका नाममा गुणस्तर खस्किने त्रास बढेको छ,’ उनले भने, ‘व्यावसायीलाई बजारीकरणमा बाटो खुलेको छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ