शिक्षकहरुको क्षमता अभिवृद्धिमा चन्द्रागिरि प्याब्सनको सक्रियता

Thankot Times

थानकोट ।
निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) चन्द्रागिरि नगर कार्यसमितिद्वारा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनको सहकार्यमा आयोजित ‘निरन्तर मूल्याङ्कन प्रणाली र पोर्टफोलियो विकास अभिमुखीकरण कार्यक्रम’ शनिबार (असार २८ गते) सम्पन्न भएको ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन अन्तर्गत समावेशी शिक्षा विभाग, पूर्व बाल विकास र व्यावसायिक अध्ययन विभागका विभागाध्यक्ष डा. बसुप्रसाद सुवेदीले मुख्य सहजकर्ताका रूपमा प्रशिक्षण प्रदान गरेेका थिए ।

प्रशिक्षणका क्रममा मुख्य सहजकर्ता सुवेदीले निरन्तर विद्यार्थी मूल्याङ्कन र पोर्टफोलियो विकासलाई विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गरेेका थिए ।
निरन्तर विद्यार्थी मूल्याङ्कनलाई परीक्षा वा अंक प्रदान गर्ने प्रक्रियामा मात्र सीमित नराखी विद्यार्थीको सिकाइ उपलब्धि, क्षमता, रुचि, व्यवहार तथा समग्र विकासको निरन्तर अभिलेखीकरण र विश्लेषण गर्ने प्रणालीका रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।
डा. सुवेदीले पोर्टफोलियो विकासले विद्यार्थीको सिकाइ यात्रा, प्रगति, सिर्जनशीलता र उपलब्धिलाई प्रमाणसहित अभिलेख राख्न सहयोग गर्ने उल्लेख गर्दै कक्षाकोठामा शिक्षकले नियमित अवलोकन, परियोजना कार्य, प्रस्तुतीकरण, सिर्जनात्मक अभ्यास तथा प्रतिपुष्टिलाई मूल्याङ्कन प्रक्रियासँग जोड्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय पाठ्यक्रमको मर्मअनुसार निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापनको सहयोग तथा अभिभावकको सकारात्मक सहभागिता आवश्यक रहेको उनको धारणा थियो।

प्रशिक्षणका क्रममा सहभागी शिक्षकहरूसँग अन्तरक्रियात्मक छलफल, समूहगत अभ्यास तथा व्यवहारिक उदाहरणमार्फत पोर्टफोलियो निर्माण र निरन्तर मूल्याङ्कनका विभिन्न विधिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
सहभागी शिक्षकहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयको नियमित शिक्षण–सिकाइ प्रक्रियामा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा मिन्जु शोभा चित्रकार, समारा दाहाल र उमा सापकोटाले सहजकर्ताको भूमिका निभाएका थिए ।

कार्यक्रममा चन्द्रागिरि नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयका संस्थापक तथा प्राचार्य, विभिन्न विद्यालयका गरी २०९ जना शिक्षक शिक्षिकाको सहभागीतन रहेको चन्द्रागिरि प्याब्सनका अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।
यस किसिमको कार्यशाला तथा प्रशिक्षण नियमित रुपमा सञ्चालन गरिने अध्यक्ष महर्जनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *