प्रधानमन्त्रीको उपस्थितिमा माघ २ गते नैकाप फुटबल मैदानमा २६औं भूकम्प सुरक्षा दिवस समारोह
थानकोट ।
आगामी माघ २ गते मंगलबार २६औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
यसपटक चन्द्रागिरि नगरमा नेपाल सरकारले विशेष समारोहका साथ मनाउने तयारी गरिरहेको छ ।
२६औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा सो समारोह आयोजना गर्ने बारे बुधबार चन्द्रागिरि नगरमा बृहत बैठक सम्पन्न भएको छ । बैठकमा चन्द्रागिरि नगरका जनप्रतिनिधिहरू, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत तीनवटै सुरक्षा अंगका प्रतिनिधिहरू, गृह मन्त्रालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगरका प्रवक्त कृष्णप्रसाद खड्गीका अनुसार समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उपस्थित हुने तालिका रहेको छ ।
दिउँसो १ः१५ बजेबाट सुरु हुने समारोहमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत उपस्थित हुनेछन् । समारोहमा भूकम्प सुरक्षा प्रदर्शनी समेत हुने बताइएको छ । समारोहको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले अध्यक्षता गर्नेछन् ।
वि सं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा वि. सं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।











