चन्द्रागिरिका विभिन्न स्थानमा महिलाको सिक्री लुट्ने थानकोटकी एक युवतीसहित ४ जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौंका विभिन्न स्थानमा पैदलयात्री महिलाहरूलाई लक्षित गरी गुडिरहेको मोटरसाइकलबाट सुनको सिक्री थुत्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न ५ जनालाई विभिन्न हातहतियार र सुन जस्तो देखिने धातुसहित सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार यो गिरोहले पछिल्लो एक महिनाभित्र चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध लुटपाट गरेको थियो ।

कहिले के ?

चैत १२ गते: मातातीर्थ फन पार्क नजिकै २९ वर्षीया महिलाको साढे एक तोलाको सिक्री लुटपाट ।

चैत १९ गते: नैकाप मितेरी चोकमा ७० वर्षीया वृद्धाको घाँटीबाट डेढ तोलाको सिक्री लुटपाट ।

वैशाख ६ गते: चन्द्रागिरि-७, घुमाउनेमा एक महिलाको डेढ तोला बराबरको सिक्री लुटपाट ।

यी घटनाहरूको अनुसन्धानका क्रममा प्रहरी वृत्त थानकोटको टोलीले विशेष अपरेशन चलाएर वैशाख ११ गते तारकेश्वर नगरपालिका-४, पैयुँटारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा २१ वर्षीय सविन तामाङ, २६ वर्षीय बिमल तामाङ, २१ वर्षीय सुजन तामाङ, ४४ वर्षीय सतिस आम्त्य र १९ वर्षीया रितिका माझी रहेका छन् । उनीहरू नुवाकोट र सोलुखुम्बु स्थायी घर भई हाल काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए ।

बरामद सामग्रीहरू

प्रहरीले अभियुक्तहरूको साथबाट लुटपाटमा प्रयोग भएका र लुटिएका सामग्रीहरू समेत बरामद गरेको छ:

१२.९० ग्राम सुन जस्तो देखिने पहेँलो धातु ।

१ थान खुकुरी, १ थान पेचकस र ९ थान रेन्चीहरू ।

३ थान एलेन की र १ थान मोबाइल ।

लुटपाट गर्दा प्रयोग गरिएका हुडी, ट्राउजर र ज्याकेटहरू ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ