दाङमा बस दुर्घटना हुँदा चन्द्रागिरिका १ पुरुषसहित १२ जनाकाे मृत्यु
थानकोट ।
दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन् । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।
मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।
बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।










