चन्द्रागिरि हिल्सको लकिङ पिरियड आज सकिंदै, शेयर मूल्य कति घट्ला ?

Thankot Times

थानकोट ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्षमा सूचीकृत होटल समूहको चन्द्रागिरि हिल्सको लकिङ पिरियड आज सोमबार सकिदैंछ। कम्पनीले जारी गरेको सूचना अनुसार माघ ८ गते लकिङ पिरियड सकिन लागेको हो।

दोस्रो बजारमा कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत छन्। यस अघि कुल शेयरको १२ प्रतिशत हुन आउने १८ लाख ४० हजार ९०९ कित्ता मात्रै शेयर किनबेच हुँदै आएका थिए। तर सोमबारबाट भने कम्पनीको सबै शेयर सर्वसाधारणमा परिणत हुनेछ। जसले गर्दा सबै संस्थापकको शेयर साधारण शेयरमा परिणत हुने छ।

लकिङ पिरियड सकिएपछि कम्पनीको शेयर घट्ने गरेको छ। यस अघि पनि लकिङ पिरियड सकिएका कम्पनीको शेयर सर्किट लागेर घटेका उदाहरण छन्। जसले गर्दा सोमबारबाट चन्द्रागिरि हिल्स कम्पनीको शेयर घट्ने अनुमान गरिएको छ ।

सर्वसाधारणले कम्पनीको प्रति कित्ता मूल्य ३० प्रतिशतसम्म घट्ने अनुमान गरेका छन्। तर होटल समूहमा राम्रो गर्दै गएको र लामो समयसम्म आफ्नो मूल्य कायम गर्न सफल भएकोले सर्वसाधारणले सोचे जति नघट्ने अर्का थरीको अनुमान लगाएका छन्।

कम्पनीको आइतबार प्रति कित्ता मूल्य ९०५ रुपैयाँ कायम भएको छ। त्यहि मूल्यको आधारमा साेमबार कारोबार सुरु हुनेछ। शेयर मूल्य घट्ने वा बढ्ने बजारले निर्धारण गर्ने भएकोले सोमबार नै कति घट्ने बढ्ने निर्क्यौल हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ