चन्द्रागिरिमा उत्पात चिसो, कति थियो अहिले बिहानको तापक्रम ?

Thankot Times

थानकोट ।

काठमाडौंको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । “बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.० डिग्री सेल्सियस छ,” उनले  भने, “काठमाडौंमा यस वर्ष यो सबैभन्दा मिनिमम हो ।”

उनका अनुसार, यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको सोमबार (माघ ८) मापन गरिएको थियो । माघ ८ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको उनले जानकारी दिए । काठमाडौंमा वर्षाको सम्भावना भने एकदमै न्यून रहेको उनको भनाइ छ ।

“काठमाडौंमा आज आंशिक बदली हुनेछ,” उनले भने, “काठमाडौंको उच्च पहाडतिर फाट्टफुट्ट वर्षाको न्यून सम्भावना छ । आंशिक बदलीसँगै दिउँसोतिर वर्षाको न्यून सम्भावना देखिएको छ ।”

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.४, दिपायलको ०.८, डडेलधुराको १.७, धनगढीको १.८ वीरेन्द्रनगरको २.०, ताप्लेजुङको २.८ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन सार्वजनिक १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *