एसीसी महिला प्रिमियर कप: इन्दु वर्माको नेतृत्वमा नेपाली टिमको घोषणा
थानकोट ।
मलेसियामा हुने एसीसी महिला प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक मनोट कटवालले मंगलबार प्रतियोगिताका लागि इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टिम सार्वजनिक गरेका हुन् ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा कटवाल रहँदा सहायक प्रशिक्षकमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी छन् ।
प्रतियोगिता फेब्रुअरी १० देखि १८ सम्म सञ्चालन हुने तालिका छ । कुल १६ टिमको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै भुटान, हङकङ र माल्दिभ्स छन् ।
नेपालले फेब्रुअरी १० मा हङकङविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । यस्तै, नेपालले ११ फेब्रुअरीमा भुटानसँग र १३ फेब्रुअरीमा माल्दिभ्ससँग खेल्नेछ ।
नेपाली टिम
इन्दु वर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पुजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, सम्झना खड्का, रोमा थापा, डोली भट्ट, अस्मिना कर्माचार्य ।














