कलंकी-नागढुंगा सडक खण्डमा एनपिआर क्यामेरा जडान, सिट बेल्ट नबाँध्ने चालक कारबाहीमा
थानकोट ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा कलंकी-नागढुंगा सडक खण्डका विभिन्न तीन स्थानमा एनपिआर क्यामेरा जडान भएका छन् ।
सो सडक खण्डको थानकोट खरिबोट, चेकपोष्टस्थित खानेपानी चोक तथा नैकाप चोकमा ती क्यामेरा जडान भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी काठमाडौंको तिनकुने, महाराजगन्ज, नयाँ बसपार्कमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा क्यामेरा जडान भएका छन् ।
यस्ता क्यामेरा जडान गरिएका सडकमा गुडेका सबै सवारीसाधनका नम्बर प्लेटको फोटो क्याप्चर गरी सर्भरमा पठाउँछ । प्रहरी खोजीमा रहेका कुनै सवारीसाधन त्यहाँ देखिएकामा नियन्त्रणमा लिन सहज हुने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनाली बताउँछन् । ‘चोरी भएका तथा हराएका सवारीसाधन पहिले नै सर्भरमा अपलोड गरिएको हुन्छ,’ उनी भन्छन्, ‘अब त्यस्ता सवारीसाधन क्यामेरा क्षेत्रमा देखिएकामा तत्कालै प्रहरी कन्ट्रोल रुममा नोटिफिकेसन आउँछ । जसकारण अब अपराध गरेर भाग्न सजिलो छैन ।’
यस्ता क्यामेरामा सवारीसाधनको गति नाप्ने प्रणालीसमेत जडान गरिएको छ । त्यस्तै, सिट बेल्ट नबाँध्ने र सवारी चलाउँदा ध्रूमपान गरेकोमा समेत क्यामेराकै मद्दतले ट्राफिक प्रहरीले कारबाही गर्नेछ । यस्ता सिसि क्यामेराकै आधारमा धेरै चालकलाई पछि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्ट बताउँछन् ।
सवारी दुर्घटना गराएर भाग्ने सवारीसाधन पत्ता लगाई कानुनी दायरामा ल्याउन पनि यी क्यामेरा प्रभावकारी हुने उनको भनाइ छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।












