आज नागढुङ्गा सुरुङको ब्रेक-थ्रु हुने साइत ! ‘ब्रेक थ्रु’का लागि जाइकाका वरिष्ठ उपाध्यक्ष नेपालमा
थानकोट ।
आयोजनाको तालिका बमोजिम कार्य जारी रहेको भए आज चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको ब्रेक-थ्रु हुने थियो । अर्थात् सुरुङ मार्गको मुल सुरुङ खनि सकिने थियो ।
तर, स्थानीयहरूको अवरोधका कारण काम रोकिएपछि टनेलको ब्रेक-थ्रु अन्योलमा परेको हो ।
स्थानीयले सधैँभरि निःशुल्क खानेपानी र सिँचाइको सुविधा दिनुपर्ने माग राखेका छन् । यसैगरी, सुरुङमार्ग प्रवेश गर्दा सवारी साधनले तिनुपर्ने शुल्क (टोल ट्याक्स)बाट स्थानीयलाई पनि रोयल्टी दिनुपर्ने माग राखिएको छ ।
करसँग जोडिएको विषय भएकाले उक्त माग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सम्बोधन गर्न नसकिने बताइएको छ ।
दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब १४ मिटर खण्ड मात्रै खन्न बाँकी छ, जुन पाँच दिनमा खन्न सकिन्छ । स्थानीयसँग ठोस सहमति नभएका कारण अझै काम सुरु हुन सकेको छैन् । साथै, कहिलेदेखि काम सुरु हुन्छ भन्नेमा पनि अन्योल भएको आयोजनाका एक इन्जिनियरले जानकारी दिए ।
सुरुङमार्गको ब्रेक थ्र्रु समारोहमा सहभागी हुन नेपालको निम्तोमा जाइकाका वरिष्ठ उपाध्यक्ष यमादा जुनिची सोमबार नेपाल आइसकेका छन् । तर, सुरुङमार्ग ब्रेक थ्रु नहुँदा उनको भ्रमण खल्लो भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘यही सुरुङको समग्र भौतिक प्रगतिको अवलोकन गर्नेसहित ब्रेक थ्रु समारोहमा उपस्थिति हुन उहाँलाई बोलाएका हौँ । उहाँ सोमबार नेपाल आइसक्नुभएको छ,’ उनले भने, ‘तर, काम गर्न सकिएन । नराम्रो सन्देश जाने भएपछि उहाँको भ्रमण रद्द पनि गर्न सकिएन ।’ नयाँ पत्रिकामा खबर छ ।
दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल भने २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ ।












