भालेश्वर दर्शनका लागि जानेहरूको चन्द्रागिरि केबलकारमा बिहानैदेखी धुइरो
थानकोट ।
चन्द्रागिरि नगरपालिका-४ स्थित भालेश्वर डाँडामा अवस्थित भालेश्वर महादेव दर्शनका लागि श्रद्धालुहरू अहिले बिहानैबाट लामबद्ध छन् ।
चन्द्रागिरिका मातातिर्थ, महादेवस्थान र थानकोट तथा इन्द्रसरोवर र थाहा नगरका उत्तरी क्षेत्रका स्थानीयहरू फागु पूर्णिमाका दिन भालेश्वर महादेव दर्शनका लागि पुग्ने परम्परा छ ।
श्रद्धालुहरू समुह-समुहमा विभिन्न बाजागाजा बजाइ भालेश्वर डाँडा पुगी भालेश्वर महादेवको दर्शन गरी उतै समेबजी ग्रहण गरी फर्कने प्रचलन छ ।
जनश्रुति अनुसार पहिले पहिले लामो समयसम्म पानी नपर्दा खडेरी परेपछि यहाँका स्थानीयले पानी माग्न भालेश्वर पुगेको र मन्दिरमा पूजाआजा गरेपछि वर्षा भएको थियो ।
फागु पर्वका दिन पछिल्लो समय चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले भालेश्वर दर्शनका लागि सहजीकरण गरेपछि श्रद्धालुहरुको संख्यामा बढोत्तरी भइरहेको देख्न सकिन्छ ।










