नवाैं धनबहादुर स्मृति अफिसियल राष्ट्रिय कराँते प्रतियोगिता सुरु, शिवकुमार केसीलाई विशेष सम्मान
थानकोट ।
चन्द्रागिरि नगरपालिका १० सतुगंल बोसिगाउँमा बुधबारबाट नवाैं धनबहादुर स्मृति अफिसियल राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ ।
चन्द्रागिरि नगरमा कराँते खेल भित्र्याउने अग्रज धनबहादुर महर्जनको स्मृतिमा सो प्रतियोगिता आयोजना गरिएको हो ।
बोसिगाउँस्थित डबलीमा बागमती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन बुधबार बिहान उद्घाटन गर्नुभएको प्रतियोगिताको नेपाल कराँते महासंघका युवराज लामाले बिहीबार समापन गर्ने तालिका रहेको छ ।
प्रतियोगिताको पहिलो दिन प्रतिष्ठानले चन्द्रागिरि नगरका परिचित खेलकर्मी शिव कुमार केसीको विशेष सम्मान गरेको छ ।
सो क्रममा चन्द्रागिरि नगरपालिका वडा न. १० का वडाध्यक्ष शीवकुमार महर्जन, कराँतेका वरिष्ठ प्रशिक्षक राजेन्द्र कपाली, खेल पत्रकार श्याम चित्रकार, ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विभिन्न ताैल समुहमा महिला र पुरुष विधामा प्रतिस्पर्धा गराइने बताइएको छ ।
जहाँ सात वटै प्रदेशका खेलाडीले सहभागिता रहेको धनबहादुर खेलकुद प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले जानकारी दिनुभयो ।