गोदावरी मेयर कप फुटबल: पहिलो सेमीफाइनल खेलमा आज चन्द्रागिरि र महालक्ष्मीबीच खेल हुने
थानकोट ।
ललितपुरको गोदावरी नगरपालिकामा जारी प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनल खेल आज बुधबार खेलाइँदैछ ।
गत मंगलबारका लागि तय भएको सेमीफाइनल खेल सुरु हुनासाथ मध्यान्ह भारी वर्षा हुँदा मैदान हिलाम्मे भएपछि दुवै सेमीफाइनल खेल स्थगित गरिएको थियो ।
सो पछि प्रतियोगिता आयोजक गोदावरी नगरपालिकाले प्रतियोगिताको सेमीफाइनल जेठ २ र ३ गतेका लागि तय गरेको हो ।
जसअनुसार पहिलो सेमीफाइनलमा आज महालक्ष्मी र चन्द्रागिरि नगरपालिकाबीच खेल हुनेछ । यो खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
क्वाटरफाइनल खेलमा छिमेकी नागार्जुन नगरपालिकामाथि ४-० गोलको सहज जित निकाल्दै चन्द्रागिरि नगरपालिका प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो भने महालक्ष्मी नगरपालिकाले दक्षिणकाली नगरको चुनाैती २-० ले पन्छाएको थियो ।
यसैगरी दोश्रो सेमीफाइनलमा भोलि जेठ ३ गते बिहीबार दिउँसो ३ः०० बजे मध्यपुर थिमी नगरपालिका र काठमाडौं महानगरपालिकाबीच हुनेछ ।
फाइनल खेल जेठ ५ गते शनिबार अपरान्ह ४ बजे खेलाइने तालिका निर्धारण गरिएको छ।
आयोजक गोदावरी नगरपालिकाको बी टिमलाई २-१ गोल अन्तरले स्तब्ध बनाउँदै काठमाडौं महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो भने मध्यपुरले कीर्तिपुरको चुनाैती ५-४ समाप्त पारेको थियो ।
प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको गोदावरी नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।
यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।













