अन्तर्राष्ट्रिय संवादका लागि चन्द्रागिरिमा प्रधानमन्त्रीसहित स्वदेशी तथा विदेशी जलवायु विज्ञहरू
थानकोट ।
चन्द्रागिरि हिल्समा बुधबारबाट ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको छ।
प्रधानमन्त्री दाहालले सो कार्यक्रमको एक समारोहका बीच बुधबार बिहान उद्घाटन गर्नुभएको हो । जलवायु परिवर्तनसम्बन्धी २ दिने विज्ञ संवादको उद्देश्य पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित कार्यलाई सुदृढ तुल्याउनु हो ।
कार्यक्रममा नेपालसहित २५ देशका विशेषज्ञ, पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढी सहभागी छन् ।
चन्द्रागिरि हिल्समा जारी कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, भुटानका कृषि तथा पशुपक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्सो, बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री साबेर हुसेन चौधरी, संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) अध्यक्ष ह्यारी भिरेउ, मुख्यसचिव वैकुण्ठ अर्याल, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारीहरूको सहभागिता रहेको छ ।
वन तथा वातावरण मन्त्रालयको संयोजनमा जलवायु परिवर्तनले हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षणको लागि चन्द्रागिरिमा दुई दिने संवाद आयोजना भएको हो ।










