चन्द्रागिरिमा सम्पदा र्याली तथा राष्ट्रिय अटोक्रश च्याम्पियनसीप, सतुङ्गलका विप्लकलाई सफलता
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा पहिलोपटक राष्ट्रिय अटो क्रश च्याम्पयनसीप सम्पन्न भएको छ ।
शनिबार चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थान, गुमालचोकीस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रंगशालामा आयोजित प्रतियोगिताको उपाधि अनिश भारतीले जितेका छन् । सतुङ्गलका विप्लक श्रेष्ठ उपविजेता बनेका छन् ।
यसैगरी धोविबाटबाट सुरु भएको ललितपुर-चन्द्रागिरि सम्पदा र्यालीको उपाधि सतुङ्गलका विप्लक श्रेष्ठले जितेका छन् ।
नेभिगेटरतर्फ रन्जन गिरी विजयी भए ।
प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएको थियो । उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो । यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी हुने गर्छन्
नोभिक विधामा सोनम शेर्पा विजयी भए । यो विधामा ३ जनाले सहभागिता जनाएका थिए जसमा राज कुमार कार्की दोश्रो भए ।
शनिबार आयोजित सम्पदा र्याली तथा अटो क्रशमा ३५ जनाले सहभागिता जनाएको आयोजक नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेशन (एनएमआरएफ)ले जनाएको छ ।

चन्द्रागिरिस्थित वाइल्ड वीस्ट्स नेपालले प्रतियोगिता सञ्चालनका लागि मुख्य सहयोग गरेको थियो ।
प्रतियोगिताका विजयीहरूका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू संजय सिग्देल, प्रल्हाद रिजाल, नरेन्द्रराज श्रेष्ठ, घनश्याम लुँइटेल लगायतले पुरस्कार वितरण गरेका थिए । यसअघि प्रतियोगिताको उद्घाटन गर्नुहुँदै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरमा खेल गतिविधि प्रवर्धनमा प्राथमिकता दिइँदै आइएकोमा मोटर स्पोर्ट्स विधाका लागि संरचना निर्माणमा चन्द्रागिरि नगरले समन्वय गर्ने धारणा राख्नुएको थियो ।















