चन्द्रागिरि नगरको बेरुजू ७ करोड, असारमा ३० प्रतिशत बजेट खर्च, दरबन्दी भन्दा बढी कर्मचारी

Thankot Times

थानकोट ।

महालेखा परीक्षकको कार्यालयले चन्द्रागिरि नगरपालिकाको गत आर्थिक वर्ष (२०७९-८०) को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक उक्त प्रतिवेदन अनुसार चन्द्रागिरि नगरमा सो वर्ष ७ करोड ९१ लाख ५४ हजार रूपैयाँ बेरुजू देखिएको छ ।

जसमा २ करोड ८७ लाख ९४ हजारको प्रतिक्रिया प्राप्त भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

चन्द्रागिरिमा गत वर्षसम्म १८ करोड २१ लाख ६४ हजार बेरुजू रहेकोमा हाल सो रकम २३ करोड २५ लाख २४ हजार पुगेको छ ।

चन्द्रागिरि नगरका पदाधिकारीहरूले सुविधा बापत एक वर्षमा १ करोड ३४ लाख ६४ हजार खर्च गरेको महालेखाको खर्च विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले प्रशासनिक खर्च नियन्त्रणका लागि सुझाव दिँदै प्राप्त अनुदान र राजश्व बाँडफाँडको रकम अधिकरुपमा विकास निर्माण परिचालन गर्न चन्द्रागिरि नगरलाई सुझाव दिएको छ ।

सो प्रतिवेदनले चन्द्रागिरि नगरपालिका क्षेत्रका व्यवसाय दर्ता तथा नवीकरण कर संकलनमा अभिलेख अध्यावधिक नगरिएको जनाएको छ ।

असार महिनामा कुल बजेटको ३० प्रतिशत खर्च भएको भन्दै महालेखाले वर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तरमा असर पर्ने भएकोले नियममा भएको व्यवस्था अनुरुप असारमा महिनामा खर्च गर्न परिपाटी नियन्त्रण गर्न सुझाव दिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११२ मा खरिद सम्झाैतामा अन्यथा उल्लेख भएको बाहेक बीस लाख रूपयाँ भन्दा बढीको निर्माण गर्दा बीमा गराउन पर्ने व्यवस्था भएपनि चन्द्रागिरि नगरपालिकाले उपभोक्ता समितिहरूसँग सम्झाैता भएकोमा सो काम गर्न व्यक्तिगत दुर्घटना उपकरण र कामको बीमा गराउनु पर्नेमा खासै प्राथमिकता नदिएको, केहीको बीमा नै नगरेको तथा केहीको नापी तथा कार्य सम्पन्न भएपश्चात मात्र बीमा गरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

चन्द्रागिरि नगरको कार्यपालिका कार्यालयमा खाना तथा विविध खर्चमा १ वर्षमा ६२ लाख ८७ हजार ८६ रूपैयाँ खर्च गरिएको देखिएको भन्दै महालेखाले खर्चको मापदण्ड निर्धारण गरी खर्च नियन्त्रणमा सुझाव दिएको छ ।

सो प्रतिवेदनमा चन्द्रागिरि नगरले सिडिइ, प्रशासकीय अधिकृत, इन्जिनियर, मेडीकल सुपरिटेन्डन्ट, मेडीकल अधिकृत लागयतका पदहरू रिक्त रहेकोले कार्यसम्पादनमा असर परेको जनाएको छ भने स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी राखि २ करोड ९३ लाख ३४ हजार ३ सय ३१ रूपैयाँ वार्षिक तलब खर्च भएको जनाएको छ । 

संघले कूल ६२ जनाको दरबन्दी तोकेपनि चन्द्रागिरि नगरमा थप ६० जना कर्मचारी कार्यरत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । वडा कार्यालयतर्फ १९ जना कर्मचारी बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रशासनतर्फ १२ जना कर्मचारी बढी कार्यरत रहेको, कम्प्युटर अपरेटर १२ कर्मचारी बढी कार्यरत रहेको, इन्जिनयिर १४ जना बढी कार्यरत रहेकोले महालेखाले चन्द्रागिरि नगरको ध्यानाकर्षण गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ