असार ८ मा राष्ट्रिय खुला अपहिल दाैड, धावक पुग्नेछन् चन्द्रागिरि-कीर्तिपुर र दक्षिणकालीका पहाड
थानकोट ।
असार ८ शनिबार नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा दौड २१ किलोमिटर दूरीको राष्ट्रिय खुला अपहिल केडिसी रन प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा २ सय बढी प्रतिस्पर्धी सहभागी हुने नेपाल एडभेन्चर रनिङ महासंघले जनाएको छ ।
राखेप कार्यकारी समितिका सदस्य समेत रहेका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरका अनुसार प्रतियोगिताको शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्नेछन् ।
दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मच्छेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्केपाटी हुँदै पुनः माइती रिसोर्टमै पुगेर टुंगिनेछ ।
दौडको रुटमा सहभागीहरुले करिब ३ हजार फिट उचाई पनि तय गर्ने छन् ।
रुट ६ वटा वाटर प्वाइन्ट, ६ वटा चेक प्वाइन्ट र ३ वटा मेडिकल प्वाइन्टको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा ६५ स्वयंसेवक र ८ वटा मोटरसाइकल परिचालन गरिने बताइएको छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको छ ।
महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी दिइएको छ ।
दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।















