सडकमा पार्किङ गरिएका सवारीसाधनमा चन्द्रागिरि नगरप्रहरीको लक, अब ट्रकमा समेत लक लाग्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्रहरीले नगरक्षेत्रका मूल तथा सहायक सडक तथा ती सडकका फुटपथमा रोकिएका सवारी साधनहरूमा ह्वील लक लगाउन सुरु गरेको छ ।

नगरप्रहरीले त्रिभुवन राजपथ अन्तर्गत ढुङ्गेअड्डा-पिपलामोड सडक खण्ड तथा बाक्लो आवतजावत हुने भित्री सडकमा समेत निगरानी बढाउँदै पार्किङ गरिएका सवारी साधनहरूमा लक लगाउन थालेको हो ।

पटकपटक सचेत गराउँदा समेत अटेर गरि सवारी साधन सडक किनार तथा फुटपाथमा पार्किङ गर्ने क्रम बढेपछि बाध्य भएर लक लगाउन परेको नगर प्रहरीको भनाई छ ।

हामीले सवारी धनीलाई आतंकित बनाउन लक लगाउने तथा नियन्त्रणमा लिएका हैनाैं, पैदलयात्रीको अधिकार हनन भएको कारण बाध्य भएर अटेर गर्ने सवारी साधनमाथि कारबाही सुरु गरिएको हो कार्य क्षेत्रमा खटिएका एक नगरप्रहरीले भने ।

लक लगाइएका तथा नगर प्रहरीले नियन्त्रणमा लिएका २ पांग्रेका लागि १ हजार रूपैयाँ तथा साना ४ पांग्रेबाट २ हजार जरिवाना लिइ ती सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गर्ने गरिएको चन्द्रागिरि नगर प्रहरी सहायक निरीक्षक नरेन्द्र केसीले जानकारी दिनुभयो ।

नगरपालिकाको आर्थिक ऐनमा उल्लिखित निर्देशिका अनुसार हाललाई सो जरिवाना तिराईएको नगर प्रहरी सहायक निरीक्षक केसीको भनाई छ । कसुर अनुसार जरिवाना रकम थप हुन सक्ने पनि उहाँको भनाई छ ।

नगर क्षेत्रको सडक किनारमा रोकिएका ट्रकहरूमा समेत हामी अब कारबाहीको प्रकृया सुरु हुँदैछ, जसका लागि लकको माग गरिएको छ केसीले भन्नुभयो ।

सवारी साधन रोकिएको देख्ने बित्तिकै हामीले सवारीसाधनमा लक लगाएका छैनाैं, पटकपटक अनुरोध तथा चेतावनी दिँदा समेत अटेर गरेपछि बाध्य भएर नगरप्रहरीले लक लगाउने तथा नियन्त्रणमा लिने गर्दछ चन्द्रागिरि नगर प्रहरी सहायक निरीक्षक नरेन्द्र केसीले भन्नुभयो ।

यसैबीच आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरपालिकाले हरेक वडाका लागि पार्किङ व्यवस्था गर्न बजेट विनियोजन गर्ने भएको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै सम्बन्धित वडा कार्यालयहरूले आ-आफ्नो वडा क्षेत्रभित्र पार्किङका लागि व्यवस्था मिलाउनुपर्ने चन्द्रागिरि नगरपालिकाका एक कार्यपालिका सदस्यले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *