यू-२० राष्ट्रिय महिला भलिबल टोलीको मुख्य प्रशिक्षकमा न्यु डायमण्डका कुमार राई नियुक्त
थानकोट ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईले यू-२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
नेपाल भलिबल संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपका लागि बुधबार राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।
महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकको रुपमा चिनिएका राई यसअघि महिला टोलीको सहायक प्रशिक्षक बनेका थिए । एसियन भलिबल च्याम्पियनसिपका लागि टोलीले प्रशिक्षण सुरु गरेपनि कोराना भाइरस (कोभिड-१९) का कारण च्याम्पियनसिप नै रद्ध भएको थियो ।
उनले नै उत्पादन गरेका कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारसँगै प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, कृपा अधिकारी, रिमा कुँवर, प्रगति नाथले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । रिमा र प्रगतिले गत वर्ष नेपालमै आयोजना भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप दौरान डेब्यु गरेकी थिइन् ।
प्रशिक्षक राईले २०६४ जेठ ५ गते न्यु डायमण्ड एकेडेमीमा महिला भलिबल टोलीको प्रशिक्षण सुरु गरेका थिए । त्यसयता विद्यालयस्तर हुँदै राष्ट्रियस्तरसम्म उनको प्रशिक्षणमा डायमन्डले खेल्दै आइरहँदा यो अवधिमा थुप्रै उपाधि जितिसकेका छन् । उनी विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक समेत चुनिएका छन् ।
काभा यु–२० महिला भलिबल च्याम्पियनसिप आगामी १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहति चार राष्ट्रको सहभागिता रहेको छ । यस्तै किर्गिस्तान र श्रीलंका रहेका छन् ।
राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुवै विजेताले फाइनल खेल्नेछ । नेपाली टोली जुलाई १६ मा त्यसतर्फ प्रस्थान गर्नेछ । १७ जुलाईमा टेक्निकल मिटिङ रहनेछ ।
हाम्रो खेलकुदको सहयोगमा ।
तस्बिरः दी हिमालयन टाइम्स











