मच्छेगाउँमा भदाै १४ र १५ गते राष्ट्रिय लाखे नाच प्रदर्शनी आयोजना हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका- ९ मच्छेगाउँस्थित नेपाल सांस्कृतिक कला मन्दिरको आयोजना वर्षेनी हुने राष्ट्रिय लाखे नाच प्रदर्शनी यसपटक भदाै १४ र १५ गतेका लागि तय भएको छ।
सोमबार सो प्रदर्शनी सम्बन्धी ब्यानर सार्वजनिक गर्नुहुँदै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले सो जानकारी दिनुभएको हो ।
कार्यक्रमको ब्यानर सार्वजनिक कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरू एवं नेपाल सांस्कृतिक कला मन्दिरका सल्लाहकारहरु कृष्णभगत श्रेष्ठ, वीरकृष्ण शाही, बुद्धरत्न श्रेष्ठ, बलराम थापा लगायतको उपस्थिति रहेको थियो । सो क्रममा संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायका कला संस्कृति एकै स्थानमा देख्न, हेर्न पाउनु गाैरवको क्षण भएको प्रतिक्रिया दिनुभयो ।
लाखे नाच प्रदर्शनी कार्यक्रममा यसपटक ४५ वटा जिल्लाका सहभागीहरू उपस्थित हुने आयोजक संस्थाको दावी रहेको छ ।
गतवर्ष असोज ५ र ६ गते भएको सो प्रदर्शनीमा ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएका थिए ।
यसपटक सो प्रदर्शनीका लागि आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं नारा दिइएको छ ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताउनुभयो ।













