एएफसी च्यालेन्ज लिग: चर्च ब्वाइज युनाइटेड र पारो फुटबल क्लबबीचको खेल आज हुँदै
थानकोट ।
नेपालको लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग विजेता पारो फुटबल क्लबबीच एएफसी च्यालेन्ज लिगको पहिलो चरणको खेल आज हुने तालिका रहेको छ ।
काठमाडाैंस्थित दशरथ रंगशालामा सञ्चालन हुने खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ।
लामो समयपछि दशरथ रंगशालामा अन्तरार्ष्ट्रिय स्तरको फुटबल खेल हुन लागेपछि यस खेलमा धेरैको चासो रहेको छ । उसो त दशरथ रंगशालाले अन्तरार्ष्ट्रिय खेल खेलाउने मान्यता पाएको केही दिनमै यो खेल हुन लागेको हो ।
भुटानी लिग विजेता क्लबका प्रमुख सदस्य जापानका स्टार फुटबलर केसुके होन्डाले दशरथ रंगशालाको स्तरका बारेमा दिएको प्रतिक्रियाले यो खेलको प्रसंग सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
यो खेलका चर्च ब्वाइजका तर्फबाट नेपाली राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ , आयुष घलानसहित केही विदेशी खेलाडीलाई अनुबन्ध गरिएका छन् । टोलीले क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्नेमा प्रशिक्षक बाल गोपाल महर्जनले आशावादी छन् । तयारीका क्रममा चर्च ब्वाइजले त्रिभुवन आर्मी फुटबल क्लबसँग र यु-२० टोलीसँग अभ्यास खेल खेलेको थियो।
टोलीका कप्तान अनन्त तामाङले रंगशालामा खेल्ने अनुभव भएकोले टोली फिजिकली, मेन्टली तयार रहेको बताए।
पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने अनन्त बताएका छन् । होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुन् ।
तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने पारोका प्रशिक्षक पुष्पलाल शर्माले बताएका थिए । नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रंगशालाको स्तर उपयुक्त नभएको गुनासो गरेका थिए।
हाम्रो खेलकुदबाट ।














