टी-२० विश्वकप खेलेका क्रिकेटरलाई जनही ३ लाख प्रोत्साहन भत्ता

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले गत महिना टी-२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्यानले स्पट फिक्सिङका आरोपमा निलम्बित आदिल आलमको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनअनुसार निर्णय गर्ने जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने निर्णय गरको छ ।

त्यस्तै क्यानले सातवटै प्रदेश क्रिकेट संघहरूलाई २ महिला र ३ पुरुष गरी प्रति प्रदेश ५ खेलाडीलाई सेप्टेम्बर १ देखि लागू हुने गरी वार्षिक जनही १५ हजारको दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि प्रदेशले नै खेलाडीसँग सम्झौता गरी केन्द्रबाट पारिश्रमिक निकासा लिनेछ । ७ प्रदेशका कुल ३५ खेलाडी यस सम्झौतामा पर्नेछन् ।

त्यसैगरी क्यानले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा राष्ट्रिय छनोट समिति गठन गरेको छ । छनोट समितिका लागि क्यानले आवेदन मागेको थियो । क्यानले समितिका अन्य दुई सदस्यमा युनिल श्रेष्ठ र मुर्तुजा हवारीलाई चयन गरेको छ ।

त्यस्तै यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर–अक्टोबरमा कोशी प्रदेशमा गर्ने निर्णय गरेको छ । नेपालले अप्रिल १२ देखि २१ सम्म आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट छनोट आयोजना गर्दै छ । नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि घरेलु प्रतियोगिता नेपालको छनोट आधार हुनेछ ।

त्यस्तै, आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको तयारीस्वरूप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गरिने क्यानले निर्णय गरेको छ ।

क्यानको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गर्ने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबरको अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै क्यानले आफ्नो वार्षिक साधारणसभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *