तेस्रो मातातिर्थ गोल्डकपमा ‘म्यान अफ दि म्याच’ले पाइरहेको पुरानो फोटोको चर्चा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा जारी तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको राैनक दिनहुँ बढ्दो छ ।

असोज ६ गतेबाट जारी प्रतियोगिता असोज १७ गते सकिनेछ ।

विभिन्न १८ वटा टोलीले स्पर्धा गरिरहेको प्रतियोगिताको विजेताले ४ लाख रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउँदा दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

यस्तै हरेक खेलका म्यान अफ दि म्याच घोषित खेलाडीले मातातिर्थ क्षेत्रको पुरानो फोटो आकर्षक फ्रेमिङ सहित प्राप्त गरिरहेका छन् ।

सो फोटो प्रतियोगिता आयोजक संस्था मातातिर्थ संरक्षण तथा विकास संस्थाको अनुरोधमा नेपालका पुराना तस्बिरहरूको खोज, संकलन तथा प्रदर्शनी गर्दै आएको संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो ।

उसो त प्रतियोगिताको पहिलो र दोश्रो संस्करणमा समेत मातातिर्थ क्षेत्रकै पुरानो फोटो म्यान अफ दि म्याचले प्राप्त गरेका थिए ।

पहिलो संस्करणमा मातातिर्थ कुण्डमा २०१६ सालमा मातातिर्थ औंशी मेला लागिरहेको तस्बिर म्यान अफ दि म्याचले प्राप्त गरेका थिए भने दोश्रो संस्करणमा २०३० मा खिचिएको मातातिर्थ कुण्डको तस्बिर म्यान अफ दि म्याच घोषित खेलाडीले प्राप्त गरेका थिए ।

यसपटक भने २०३८ साल ताका मातातिर्थ कुण्ड क्षेत्र जिर्णोद्धार भइरहेको बेलाको तस्बिर म्यान अफ दि म्याच घोषित खेलाडीले प्राप्त गरिरहेका छन् ।

मातातिर्थ क्षेत्रको ऐतिहासिकतालाई प्रचारप्रसार गर्न हामीले पुरानो फोटोलाई प्रवर्द्धन गर्न कोशिस गरेका हाैं प्रतियोगिता आयोजक संस्था मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भन्नुभयो ।

फोटो म्युजियम नेपालका निर्देशक जीवन नेपालको प्रस्तावमा हामीले यस क्षेत्रको पुरानो फोटोलाई प्रवर्द्धनको प्रयास गरिरहेका हाैं उदासले भन्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *