संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई नेपाली कांग्रेसको ह्वीप

Thankot Times

थानकोट ।

 नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । 

बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।

सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलहरुबीच सहमति भएको छ ।

प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ः१५ बजे बस्नेछ । 

प्रतिनिधि सभामा छ वटा अध्यादेश पेस भएका हुन् । बैठकमा  ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’,  ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरिएको हो । 

‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई भने पछि सहमति खोजिने भएको छ । जसपा र लोसपाले भूमि बाहेकका अध्यादेश अघि बढाउन सहयोग गर्ने निर्णय गरेकाले यी अध्यादेश दुवै सदनबाट स्वीकृत हुने छ भने भूमि अध्यादेशबारे पछि थप सहमति खोज्ने सरकारको तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *