चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लेनदेन नगर्न अपिल गरेको छ ।

रास्वपाका महामन्त्री विपिन आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे अपिल गरेका हुन् ।

उनले चाडपर्वका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिँदै उपहार तथा सुविधाको लेनदेनलाई निरुत्साहित गर्न आग्रह गरेका हुन् ।

आचार्यका अनुसार रास्वपाले स्थापनाकालदेखि नै शुभकामना आदानप्रदानका क्रममा उपहार, नगद, जिन्सी वा अन्य सुविधा लिने–दिने कार्यलाई निरुत्साहित गर्दै आएको छ । पार्टीले यस मान्यतालाई निरन्तरता दिने उनको भनाइ छ ।

‘चाडपर्वमा हामी जसरी परिवार र आफन्तबाट केवल आशीर्वादको अपेक्षा गर्छौँ, त्यसरी नै राजनीतिमा पनि हाम्रा लागि नागरिक र अन्य सबैको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो,’ उनले भनेका छन् ।

चाडपर्वले निःस्वार्थ प्रेम र सद्भावको सन्देश दिने उल्लेख गर्दै आचार्यले मर्यादित, सुसंस्कृत र भरोसायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ