सतुङ्गलसहित काठमाडौँ उपत्यकाका ११ स्थानबाट आज ग्यास बिक्री र सिलिन्डर साटफेर गरिने

Thankot Times

थानकोट ।

नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन काठमाडौँ उपत्यकाका ११ स्थानबाट एलपी ग्यास बिक्री वितरण तथा सिलिन्डर साटफेरको विशेष व्यवस्था गरेको छ।

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ गते सोमबारदेखि असोज ३० गते शुक्रबारसम्म उक्त व्यवस्था सञ्चालन गरिने संघले जनाएको छ। तोकिएका केन्द्रबाट बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ।

संघका अध्यक्ष दिवान चन्दले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको संघले जनाएको छ।

ग्यासको आपूर्ति सहज रहे पनि चाडपर्वका बेला कतिपय उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो गरेका थिए।

उपभोक्ताका यिनै समस्यालाई ध्यानमा राख्दै उपत्यकामा बिक्री वितरण भइरहेका विभिन्न ब्रान्डका सिलिन्डर साटफेर तथा बिक्रीका लागि विशेष व्यवस्था गरिएको संघले स्पष्ट पारेको छ।

संघका अनुसार तोकिएका ११ केन्द्रमा उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गरिनेछ। ती केन्द्रबाहेक अन्य स्थानमा सिलिन्डर साटफेरको व्यवस्था नहुने पनि संघले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ