अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरद्वारा ख्याति प्राप्त १४ जना महिला सम्मानित
थानकोट ।
‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैँछ ।
दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले विभिन्न क्षेत्रमा ख्याति कमाएका नगर क्षेत्रका १४ जना महिलालाई सम्मानित गरेको छ ।
नगरप्रमुख घनश्याम गिरीले शनिबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच विभिन्न पाँच क्षेत्रमा पहिचान बनाएका महिलाहरूलाई सम्मान गरेका हुन् ।
नगरपालिकाले यसअघि नै सम्मान गर्ने सूचना जारी गर्दै इच्छुकहरूका लागि आवेदन दिन सार्वजनिक आह्वान गरेको थियो । जसका लागि १९ जना महिलाले आवेदन दिएकोमा निर्धारित मापदण्ड अनुसार १४ जना सम्मान योग्य रहेको पाइएको नगरको भनाइ छ ।
सो क्रममा समाजसेवामा समर्पित भई योगदान दिने बागमती प्रदेश सभा सांसद् यमुनादेवी श्रेष्ठ, रुकमिणी गिरी र शारदा खतिवडा सम्मानित भए । यसैगरी महिला मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने शान्ति महर्जन र दुर्गा तिमल्सिना सम्मानित हुँदा विद्यावारिधी उपाधि हासिल गरेका डा. मिनु सिग्देल लोहनी र डा. सुनिता थापा सम्मानित भए ।
सरकार सेवाको उपसचिव वा सो भन्दा माथिल्लो पदमा कार्यरत अन्तर्गत नेपाली सेनाको महासेनानी दर्जामा कार्यरत अन्जु कार्की सम्मानित हुँदा उद्यमी/व्यवसायमा सफल कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वति कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्याैपाने र दीना श्रेष्ठ सम्मानित भए ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम गिरीले आगामी वर्षहरुमा समेत नगरपालिकाले नगर क्षेत्रमा ख्याति कमाएका महिलाहरूको सम्मानमा कुनै कसर नराख्ने धारणा राखे । महिलाहरूलाई कुनैपनि कार्यमा तल्लिन भएर काम गर्दा मूल्याकंन हुन्छ, प्रोत्साहन मिल्छ भन्ने उद्देश्यले नगरले पहिलोपटक नगरमा ख्याति कमाएका महिलाहरूको सम्मान गरेको नगरप्रमुख गिरीको भनाइ थियो ।

















