१४औँ दक्षिण एसियाली खेलकुदमा २८ खेल
थानकोट ।
पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग)मा २८ खेल समावेश गरिने भएको छ ।
आइतबार (भदौ ७) राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगितामा २८ खेल समावेश हुने जनाएको हो ।

प्रतियोगितामा समावेश गरिने खेलमा एथलेटिक्स, स्वीमिङ, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (थ्री बाई थ्री र फुलकोर्ट), बिलियार्डस र स्कुनर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, बिच ह्यान्डबल (पुरुष मात्र), हक्की (पुरुष मात्र), कबड्डी, कराते, जुडो, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, तेक्वान्दो, टेबलटेनिस, टेनिस, ट्रायथलन, भलिबल, बिच भलिबल, भारतोलन र उसु छन् ।
प्रतियोगिता पाकिस्तानमा आउँदो वर्ष अप्रिल ३ देखि ११ सम्म हुनेछ ।
पाकिस्तान र नेपालसँगै बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहनेछ ।
पाकिस्तानमा साग प्रतियोगिता हुन लागेको यसपालि तेस्रोपटक हो ।
पाकिस्तानले यसअघि सन् १९८९ मा चौथो र २००४ मा नवौँ संस्करण आयोजना गरेको थियो ।











