थानकोट चेकपोष्ट क्षेत्रका एक व्यक्तिमा हैजा संक्रमण देखिएपछि वडा कार्यालयबाट सूचना जारी
थानकोट ।
वडा क्षेत्रका एकजनामा हैजा रोगको संक्रमण देखिएपछि चन्द्रागिरि नगरपालिका-७, महादेवस्थानस्थित वडा कार्यालयले स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
वडा कार्यालयले मंगलबार (भदाै २ गते)जारी गरेको सूचनामा हैजाको सम्भावित संक्रमण तथा फैलावट रोक्न वडावासीलाई स्वास्थ्य तथा सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
वडा कार्यालयले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन, खाना खानुअघि तथा शौचालय गएपछि साबुनपानीले हात राम्ररी धुन र राम्ररी पकाएको तथा ताजा खाना मात्र खान आग्रह गरेको छ।
त्यस्तै, काँचो फलफूल तथा तरकारी सफा पानीले पखालेर मात्र सेवन गर्न र खुला ठाउँमा दिसापिसाब नगरी शौचालयको प्रयोग गर्न भनिएको छ।
सूचनामा झाडापखाला वा बान्ता भएमा तुरुन्त जीवनजल खुवाउने वा पिउने तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ। दूषित पानी वा खानाबाट रोग फैलिन सक्ने भएकाले सफा पानी र सरसफाइमा विशेष ध्यान दिनसमेत वडा कार्यालयले अनुरोध गरेको छ।
काठमाडौं उपत्यकामा यसअघि पनि हैजाको जोखिमबारे स्वास्थ्य विज्ञ तथा निकायहरूले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्।











